काठमाडौं– ६ विद्यार्थी संगठनले करिब ५ सय मानिसको ज्यान जानेगरी सिरियामा गरिएको पछिल्लो आक्रमणको भर्त्सना गरेका छन्।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी, राजपा विद्यार्थी संगठन, अखिल छैठौ र समाजवादी विद्यार्थी फोरमले आज संयुक्त विज्ञप्ती जारी गर्दै राष्ट्रसंघको सुरक्षा परिषदले ३० दिने संघर्ष विरामको प्रस्ताव पारित गरेको केही घण्टा नबित्दै सिरियामा सुरु भएको हिंसात्मक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सिरियामा भएको पछिल्लो आक्रमणमा १ सय ५० बालबालिका सहित ५ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताउँदै आएका छन्। बम आक्रमणपछि मृत्यु र घाइते भएका बालबालिकको तस्बिर र भिडियोहरु सार्वजनिक भएपछि विश्वभर शोक व्यक्त गरिएको छ।
सोही घटनाको विरोधमा विभिन्न ६ विद्यार्थी संगठनले सिरियामा पछिल्लो समय सरकार र विद्रोही दुवै पक्षले प्रयोग गरिरहेको रसायनिक हतियारको प्रयोग रोक्न माग गरेका छन्। विद्यार्थी संगठनले राष्ट्रसंघको प्रस्ताव गरेको युद्ध विराम प्रस्तावलाई सहर्ष स्वीकार गर्दै दुवैको तर्फबाट भइरहेको आक्रमण रोकेर समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।
६ वटै विद्यार्थी संगठनका अध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– अमेरिका, रुसलगायत शक्ति राष्ट्रहरुलाई सिरिया नरसंहार रोकी समस्याको समाधान खोज्न सघाउने गरी विश्व शान्ति कायम गर्ने दिशामा भूमिका खेल्न आग्रह गर्न चाहान्छौ।
विद्यार्थी संगठनले शान्ति स्थापना गराउने कार्यमा प्रभावकारी भूमिका निभाउन समेत राष्ट्रसंघ समेतलाई आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।