काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसिसी) इमर्जिङ टिम्स कप अन्तर्गत पहिलो खेलमा भारतविरुद्ध नेपालका पवन सर्राफले अर्धशतक बनाएका छन्। उनले ४९ बलमा ७ चौका र २ छक्कासहित ५६ रन बनाए।
पवन सर्राफले अर्धशतक बनाए पनि अरु ब्याट्सम्यान चल्न नसक्दा नेपालले राम्रो रन जोड्न सकेन। ४४.५ ओभरमा १ सय ९३ रन बनाउँदा नेपालले सबै विकेट गुमायो।
बंगलादेशको साभरमा टस जितेर भारतले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा नै बिनारन आउट भए। अर्का ओपनर कुशल भुर्तेलले ६० बलमा २८ रन बनाए।
यस्तै शरद भेषावकरले ७६ बलमा ४४ रन, आरिफ शेखले ५ बलमा २ रन, दिपेन्द्र सिंह ऐरीले ३१ बलमा २४ रन, बिनोद भण्डारीले १२ बलमा ५ रन बनाए। सोमपाल कामी दुई रनमा नै आउट भए। करण केसीले १६ बलमा २० रन बनाए। सुसन भारीले ६ बलमा २ रन बनाए।
भारतका सौरभ दुबेले ४ विकेट लिए। यास राथोडले ३, पर्थ रेखाडेले २ र सिद्धार्थ देसाइले १ विकेट लिए।
..........
युएईले नाम फिर्ता लिएपछि एसिसी इमर्जिङ टिम्स कपमा नेपालले खेल्ने मौका पाइरहेको हो। प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङ छन्।
नेपाल रहेको समूह ‘बी’ मा भारतसहित बंगलादेश र हङकङ रहेका छन्। समूह ‘ए’मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान छन्। दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
नेपालले आउने शनिबार हङकङविरुद्ध र सोमबार बंगलादेशविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।