जनकपुर- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरिबी निवारणका कार्यक्रम गरिब बस्तीमै आयोजना गर्न उत्तम हुने बताएका छन्। जनकपुरमा गरिबी निवारण कोषले आयोजना गरेको प्रदेशस्तरीत स्थानीय सरकारसँगको अन्तर्क्रिया' कार्यक्रममा मुख्यमन्त्री राउतले भने, ‘आज कुनै गरिब दलित बस्तीमा गरिबी निवारणको कार्यक्रममा सहभागी हुन पाएको भए अझ उपयुक्त हुन्थ्यो।’
मुख्यमन्त्री राउतले गरिबी निवारण देशको सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै लक्ष्य प्राप्तिका लागि गरिबी निवारण कोषलाई पहिले प्रादेशिक संरचनामा रहेर काम गर्न अनुरोध गरे।
मानव विकास सूचांकको आधारमा प्रदेश २ पछाडि परेको उल्लेख गर्दै उनले आफ्नै नेतृत्वमा मुख्यमन्त्री गरिबी निवारण परियोजना लागू गर्ने योजनामा रहेको बताए। उनले कोषका पदाधिकारीलाई आफ्नो उक्त योजनाको हिस्सा भएर काम गर्न आग्रह गरे।
धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले धार्मिक सर्किट स्थापना गर्ने योजना बनाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले कृषि क्षेत्रको प्रवर्धन र गरिब बस्तीलाई लक्षित गरी प्रदेश सरकारले बनाएको योजनामा गरिबी निवारण कोषलाई जोडिन आग्रह गरे।
उनले भने, ‘मेरो नेतृत्वको सरकार वाचामुखी होइन, नतिजामूलक सरकार हो। म परिणाममा विश्वास गर्छु। यस कारण मेरो कार्यकालमा कति प्रतिशत गरिबी यो प्रदेशमा घट्यो, त्यसको लेखाजोखा भोलि तपाईंहरुले गर्नुहोला। तर, अहिले प्रदेश सरकारलाई स्रोत र साधनको खाँचो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।