काँकडभिट्टा- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिएका हुन्। मानव स्वास्थ्यमा घातक पुर्याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उनले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिएको बताए।
माछा, तरकारी, फलफूल, पेय पदार्थ लगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए।
सीमाका कार्यालयले सुँघेर र छामेर माछा लगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिए।
भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले गुणस्तर जाँचेको प्रमाणपत्रका आधारमा मात्र सामानको आयात अनुमति दिने गरिएको र त्यसैबमोजिम कर असुल्ने गरिएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।