डडेल्धुरा- स्थानीयस्तरमा ‘देहीजात’ नामले परिचित सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मेला सम्पन्न भएको छ। सोमबार साँझदेखि सुरु भएको मेला मंगलबार बेलुका सम्पन्न भएको हो।
कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी)मा यस्तो मेला लाग्ने गर्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो।
चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना गरी मेला मनाउने गरिएको छ। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गरी मेला सम्पन्न भएको छ। बिहानको पूजाआजा पछि दिउँसो दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नचाइएको थियो।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। विगतका वर्ष झै यो वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजनाले मेला भरेको उनको भनाइ छ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा दर्शनार्थीको भिड लागेको थियो।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्थ्यो।
वर्षमा एक पटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुख प्राप्तप्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भएको थियो ।
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रुपमा प्रख्यात छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा स्थानीयले बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, प्याजको बेर्ना बिक्रीवितरण गर्ने गर्दछन्। गत वर्ष सरकारले छनोट गरेका १०० नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।