बुटवल– प्रदेश ५ का लागि आवश्यक कानुन मस्यौदा बनाउनका लागि प्रदेश कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ।
फागुन ३ मा बसेको मन्त्रिपरिषद बैठकले आयोग गठन गर्ने निर्णय गरे पनि आयोगका पदाधिकारीलाई सोमबार मात्र पत्र दिइएको छ। आयोग गठन गर्ने निर्णय गरेकै दिन प्रमुख सचिव शंकर पाठक काठमाडौं गएकाले आयोगका अध्यक्ष र सदस्यलाई पत्र दिन ढिला भएको हो।
प्रमुख सचिव काठमाडौंबाट फर्किएलगत्तै पत्रमा हस्ताक्षर गरी बुझाइएको कानुन सचिव निर्मला भट्टराईले जानकारी दिइन्।
वरिष्ठ अधिवक्ता डा कुमार आचार्यको अध्यक्षतामा गठित आयोगमा अधिवक्ताहरु विष्णु पोखरेल र खुमाकान्त पौडेल सदस्य छन्। आयोगको पदेन सदस्यमा प्रदेशका सहन्यायाधिवक्ता, मुख्यमन्त्रीको कार्यालयका कानुन उपसचिव र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख रहने प्रावधन छ।
आयोगले प्रदेशलाई आवश्यक ऐन कानुनको मस्यौदा तयार पार्नुका साथै सुझाव समेत दिनेछ ।आयोगलाई १ वर्षको समय दिइएको सचिव भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।