तनहुँ– बच्चा अपहरण गरिदिने भन्दै एक व्यवसायीलाई धम्काएर फिरौती असुल्ने व्यक्ति पक्राउ परेका छन्। तनहुँको रिसिङ घर भएका तिल बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो।
उनले ब्यासमा हार्डवेयर पसल चालाउने भुपाल आलेलाई धम्काएर १५ लाख रुपैयाँ मागेका थिए। पैसा नदिए बच्चा अपहरण गर्ने भन्दै फोनबाट धम्की दिएका थिए। धम्की दिएलगत्तै उनले फोन अफ गर्दथे । तर्साउनका लागि उनले आलेको गाडी समेत एकपटक तोडफोड गरी ‘यो संकेतमात्र हो, तेरो घर नै बम हानेर उढाइदिन्छु’ भन्दै आतंकित बनाएका थिए।
आलेले प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। १२ गते राती ब्यासको शान्तिनगरस्थित झोलुङगे पुलमा पैसा लिएर आउन निर्देशन दिएका थिए। सोही अनुसार आलेले २ लाख रुपैयाँ लगेर दिएका थिए। पैसा भएको झोला लिएर भाग्न लाग्दा प्रहरीले उनलाइ पक्राउ गरेको हो। अभियुक्त सारुलाई अपहरण मुद्दामा कारबाही अघि बढाइएको तनहुँका एसपी उमेशराज जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।