भैरहवा- भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन (च्यान्टिंग) कार्यक्रमको पूर्व सन्ध्यामा पिस वाक (शान्ति पदयात्रा) कार्यक्रम सुरु भएको छ। लुम्बिनीसंगै रामग्राम स्तुपा र राजा शुद्धोधनको दरबार स्थल तिलौराकोटसम्म पुग्ने गरी पदयात्रा सोमबार भैरहवाबाट सुरु भएको हो।
लुम्बिनीस्थित विश्व शान्ति स्तुपाको आयोजना एवं संयोजनमा सुरु भएको पदयात्राको पहिलो दिन भैरहवास्थित शान्ति गुम्बाबाट रामग्राम स्तुपासम्म २५ दशमलव २ किलोमिटर पद यात्रा सम्पन्न भएको छ। पदयात्रीहरुलाई विभिन्न स्थानमा जल र आहारको व्यवस्था गरिएको छ। उनीहरु ब्यानरसहित परम्परागत बाजा बजाएर यात्रा गरिरहेका छन्। यात्रामा बालबालिकासमेत सहभागी छन्।
पदयात्रा शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय च्यान्टिंग कार्यक्रम समारोह समितिका संयोजक एवं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महाथेरोले गत वर्षबाट सुरु भएको च्यान्टिंग कार्यक्रममा रामग्राम, तिलौराकोट जस्ता सम्पदाहरुलाई पनि जोडने लक्ष्यसहित यो पदयात्रा सुरु भएको जानकारी दिए। पदयात्रा विश्व शान्तिका स्तुपका प्रमुख भिक्षु सातो तासकुमाको नेतृत्वमा अन्य विदेशी भिक्षु, उपासक उपासिका र सहयोगी समेत गरी ४० जनाको समुह रहेको शान्ति स्तुपका परामर्श सल्लाहकार लिलामणी शर्माले बताए।
दोस्रो दिन शान्ति पद यात्रा भैरहवाबाट ग्रामीण क्षेत्र मर्चवार हुँदै लुम्बिनी र तेस्रो दिन लुम्बिनीबाट तिलौराकोटसम्म यात्रा तय गर्नेछन्। 'पदयात्राले शान्तिको सन्देश दिनेछ भने त्रिपिटकको प्रचार पनि गर्नेछ,' पदयात्रा टोलीलाई रामग्राम स्तुपामा स्वागत गर्दै सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी)ले भने। पदयात्रीहरुले रामग्राम स्तुपा परीसरमा परिक्रमासंगै बौद्ध पूजा, प्रार्थनासंगै विश्व शान्तिको कामना गरेका थिए।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।