बर्दिया- खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै विवादहरू हल गर्ने बताएकी छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले साेमबार आयोजना गरेको ‘स्थानीय स्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतिहरू विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरू हल हुँदै जाने बताएकी हुन्।
मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पुर्याउन आवश्यकताका आधारमा योजनाहरू बनाएर अघि बढ्ने जानकारी दिइन्। ‘हिजोका दिनमा योजनाहरू धेरै बने। भएका योजनाहरू समेत भद्रगोल अवस्थामा पुग्यो, उनले भनिन्, ‘अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ। व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन। सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरूलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिइसकेको छु।’
‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र सहर बजारमा खानेपानीको सहज आपूर्तिकाे व्यवस्था मिलाउन नयाँ र ठूला आयोजनाहरू सञ्चालन गर्ने तयारीमा छौं।’ उनले भनिन्, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नू अहिलेको प्रमुख आवश्यकता हो। संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ। यस कुरामा सबै तहका सरकार जिम्मेवार बन्नै पर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।