डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा मंगलबार भव्य मेला लागेको छ। स्थानीय भाषामा ‘देहिजाँत’को रुपमा मानिने उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष आजैका दिन भव्य मेला लाग्ने गर्दछ।
हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। सोमबार बेलुकादेखि सरू भएको मेला मंगलबार बेलुकीसम्म लाग्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा चारवटा गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरू भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दरडाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन।
'धेरै श्रदालु भक्तजन मेला भर्न हिजोराति नै डडेल्धुरा सदरमुकाम पुगिसेका छन्' उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष साँकीले भने, ‘बिहानैदेखि विभिन्न जिल्लाका भक्तजनहरू आउने क्रम सुरू भएकाे छ। डडेल्धुरा सदरमुकाममा श्रद्धालु भक्तजनको घुइँचो नै लागेको छ।
किम्वदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातिका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। रगतलाई आफूले खानाका रुपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कात्तिक शुक्लपूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।