काठमाडौं- महान्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले नयाँ भवन पाउने भएको छ। करिब १ अर्ब लागतमा शहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागले सरकारी वकिलको कार्यालयका लागि भवन निर्माण गर्न लागेको हो।
२०७२ सालको भूकम्पले चर्केको हालको भवन रहेको स्थानमै नयाँ भवन निर्माण हुने सरकारी वकिल कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए।
अन्डरग्राउन्ड पार्किङसहित बाल संरक्षण गृह, अपाङ्गमैत्री कक्ष ,अत्याधुनिक इ लाइबेरी लगायतका सुविधा उक्त भवनमा हुने रेग्मीले बताए। भवनमा २ सय जना अट्ने कन्फ्रेन्स हल, बैठक कक्ष र तामिल कक्ष समेत हुनेछ।
२०२७ सालमा महान्यायाधिवक्ताको कार्यालय निर्माण भएको थियो। भुकम्पपछि भवन बस्न नमिल्ने गरी चर्किएको छ। भूकम्पपछि २ वर्षसम्म सोही भवनबाट काम चलाएको महान्यायाधिवक्ताको कार्यालय अहिले सर्वोच्च अदालत पछाडि प्रिफ्याबको भवनमा अस्थायी रुपमा सरेको छ।
प्रिफ्याबको अस्थायी भवन साँघुरो भएकाले भवन निर्माण नभएसम्म नयाँ स्थानका लागि पहल भइरहेको रेग्मीले जनाए। हाल समान्य प्रशासन मन्त्रालय रहेको भवन आफूहरुलाई उपयुक्त हुने भएकाले त्यसका लागि पहल भइरहेको नयाँ महान्यायाधिवक्ता अग्नि खरेलले बताए। महान्यायाधिवक्ताको कार्यालयले नयाँ भवन निर्माण नभएसम्मका लागि सिंहदरवारभित्रको कुनै भवन दिन सरकारसँग माग गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।