लहान- सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लागेको ताला साढे ५ महिनापछि खुलेको छ। क्याम्पस प्रशासन र आन्दोलनरत अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच ७ बुँदे सहमति भएपछि तालाबन्दी खुलेको हो।
गैरकानुनी नियुक्तिमा रोक, आर्थिक पारदर्शिता, शुल्क वृद्धिमा रोक, क्याम्पसमा शैक्षिक सुधार लगायतका माग गर्दै युनियनले गत असोज पहिलो सातादेखि क्याम्पसमा तालाबन्दी गरेको थियो। प्रशासनले माग सम्बोधन गर्ने सहमति गरेपछि तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन कुसियैतले जानकारी दिए। फागुनभित्र माग पूरा गर्ने सहमति भएको उनले बताए।
क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतको भनाइ छ। तालाबन्दीको अवधिमा क्याम्पसमा देखापरेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताएका छन्।
लगातारको तालाबन्दीका कारण सिरहा क्याम्पसको पठनपाठन लगायतका सम्पुर्ण क्रियाकलाप प्रभावित हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।