डडेल्धुरा- डडेल्धुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेत समावेश भएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो।
आइतबार साँझ नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकाको भीमदत्त चोकमा मोदीको पुत्ला जलाएको हो।
भारतीय विस्तारवाद र नेपाल सरकारको मौनताविरुद्ध समेत नेविसंघ डडेल्धुराले विरोध प्रदर्शन गरेको छ।
‘लिपुलेक, कालापानी हाम्रो हो, नरेन्द्र मोदी मुर्दावाद, ज्यान दिन तयार छौँ आफ्नो भूमि छोड्दैनौं’लगायतका नारा प्रदर्शनकारीले लगाएका थिए।
‘अमरसिंह थापाका सन्तान हामी, अमरगढीको भूमिबाट भारतीय विस्तारवाद र नेपाल सरकारको मौनतालाई यो चुनौती दिन चाहान्छौं कि बरु प्राण त्याग्छौं तर एक चिम्टी माटो गुमाउँदैनौं’ लेखिएको ब्यानरसहित उनीहरुले जिल्ला सदरमुकाम क्षेत्रमा प्रदर्शन गरेका हुन्।
भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालीहरुले सामाजिक सञ्जालबाट पनि कडा विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।