संखुवासभा- संखुवासभाको जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्य सहायक (एचए) दीपेश श्रेष्ठले करारका एक कर्मचारीमाथि कुटपिट गरेका छन्।
श्रेष्ठले अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर सवन शाक्यलाई शुक्रबार कार्यालय समयमा कुटपिट गरेका हुन्। जिल्ला अस्पतालको प्रशासनसमेत चलाउँदै आएका श्रेष्ठले पटकपटक जागिरबाट निकाल्ने भन्दै धम्क्याउने गरेको शाक्यको आरोप छ।
चिया पसलमा भेट्दापनि 'राजीनामा दे नभए म निकाल्छु' भन्दै श्रेष्ठले धम्की दिने गरेको उनको भनाइ छ। शाक्यलाई स्वास्थ्य बिमाको जिम्मेवारी दिइएको छ। स्वास्थ्य बिमामा बढी बजेट हुने भएकोले बारम्बार बिल मिलाउन भन्दा आफूले नमानेपछि अस्पतालका सहायक श्रेष्ठ आफूप्रति रुष्ट भएको उनले भनाइ छ।
शुक्रबार कार्यालय समयमै प्रशासन कक्षमा बोलाएर श्रेष्ठले एक्कासी २ मुक्का हानेको र जागिरबाट निकाल्छु भनेको उनको दुखेसो छ। शाक्य शारीरिक अपांगता भएका व्यक्ति हुन्।
उता श्रेष्ठले भने आफूले त्यस्तो दुर्व्यवहार नगरेको दाबी गरेका छन्। 'अपांगलाई पिट्दा के हुन्छ मलाई थाहा छैन र?, प्रतिप्रश्न गरेका उनले थपे, 'जागिर लागेकै दिनदेखि कसैलाई नटेर्ने भएपछि सुझाव मात्र दिएको हुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।