नेपालगञ्ज- मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्याली र सभाको आयोजना गरिएको छ।
नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको र्यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो।
सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा प्रयास हुनुपर्नेमा जोड दिए।
माइती नेपालद्वारा पश्चिमको महेन्द्रनगर र पूर्वको झापाबाट शनिबारदेखि अभियान सुरु गरिएको हो। ‘हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज’ नारा रहेको अभियान नेपालगञ्जमा सम्पन्न भई आइतबारै बर्दियाका लागि प्रस्थान गरेको छ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार अभियान दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन हुँदै १६ गते हेटौंडा पुग्नेछ। त्यसै दिन पूर्वको झापाबाट सुरु भएको अभियान पनि पूर्व क्षेत्रका जिल्लामा जनचेतना जगाउँदै हेटौँडा पुगेपछि संयुक्त रुपमा अभियानको समापन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।