काठमाडौं– केपी ओली सरकारको मन्त्रीमण्डल बिस्तार आज दिउँसो ३ बजे हुँदैछ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान हुने बैठकपछि मन्त्रीहरूको नाम टुंगो लाग्ने भएको हो।
दुवै पार्टीमा मन्त्री पदलाई लिएर धेरैको आंकाक्षा बढेपछि एमालेले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओली र माओवादीले अध्यक्ष प्रचण्डलाई सुम्पिएको थियो। मन्त्रालय सम्बन्धी बाँडफाँट मिले पनि कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बनेको छ।
‘दुई शीर्ष नेताबीच बिहान ९ बजे बैठक बसेर मन्त्रीहरूको नाम टुंगो लगाउने सहमति भएको छ। आजै राष्ट्रपति कहाँ नाम गएर सपथ पनि हुनेछ,’ बालुवाटार स्रोतले नेपाल लाइभलाई भन्यो।
एमालेमा महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली लगायत मन्त्री बन्ने सूचीमा छन्। माओवादीबाट सरकारको प्रतिनिधित्व रामबहादुर थापा ‘बादल’ ले गर्ने पक्का भइसकेको छ। माओवादीको भागमा परेको गृह मन्त्रालय कसलाई दिने भन्ने विषय पेचिलो बनेपछि आइतबार विस्तार गरिने भनिएको मन्त्री मण्डल आजका लागि सरेको हो।
ओली सरकारले संघीय समाजवादी फोरम, नेपाललाई पनि सरकारमा समावेश गराउन पार्टी अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरिरहेको छ। मधेसकेन्द्रित पार्टी सरकारमा समावेश भए सत्ता साझेदार दल एमाले र माओवादी ७–७ मन्त्रालय राख्ने कुरामा सहमत छन्। यसपालि १७ सदस्यीय मन्त्रिपरिषद् हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।