राजविराज– सप्तरीको राजगढ गाउँपालिका– ५ मलेकपुरका डोम समुदाय अहिले पनि आधारभुत सेवा नपाएर पीडामा छन्। स्थानीय सरकारले समेत वास्ता नगरेपछि उनीहरूको पीडा मथ्थर हुन नसकेको हो।
मधेसी दलितमा पनि सबैभन्दा पछाडि परेका डोम जातीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा त्यसाे हुन सकेकाे छैन। करिव ५० जनाको बसोवास रहेको डोम बस्तिमा अहिलेसम्म विजुली बत्तिको व्यवस्था हुन सकेको छैन। बस्तिमा रहेको एउटामात्र ट्युवेलबाट पानी उपभोग गर्नुपर्ने अवस्था रहेको स्थानीय प्रितम मरिकले बताए।
‘पहिले दुईवटा ट्युवेल थिए, तर अहिले एउटामा पानी आउन छोडेको महिनौ भयो’, उनले भने ‘एउटामात्र चालू अवस्थाको ट्युवेलमा बिहानैदेखि पानीका लागि झुम्मिनुपर्ने बाध्यता छ।’ सुकुम्बासी भएका कारण ऐलानी जग्गामा झुप्रो बारेर बसेका डोमहरूको लागि विद्युत् मिटर जडान हुन नसकेका कारण अँध्यारोमै बस्नुपर्ने बाध्यता भएकाे हाे। छरछिमेकमा विजुली झलमल्ल बलेकाे तर आफूहरूकाेमा मिटर पनि जडान नभएकाे स्थानीय रामकुमारी मरिकले बताइन्।
खानेपानी र विजुली जस्तै सार्वजनिक शाैचालयकाे पनि अभाव नै छ। बस्तिमा एउटामात्र सार्वजनिक शौचालय रहेकाले लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे उनले सुनाइन्। उनले भनिन् ‘गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिए पनि हाम्रा लागि अहिले पनि शौचालयमा सहज पहुँच छैन।’ डोम बस्तिमा झुप्रो बारेका बाहेक अरु जग्गा नरहेका कारण घरघरमा शौचालय बनाउन नसकिएको स्थानीय लिला मरिकले बताए। टोलको छेउँमा रहेकाे थोरै जग्गामा सार्वजनिक शौचालय निर्माण गरिदिएपछि शौचका लागि सबै जनाले त्यहीं लाइन बस्नु बस्नुपर्ने उनले बताए।
सुँगुर पाल्ने र बासका सामग्री बनाउने पुर्ख्याैली पेशा अंगाल्दै आएका डोम समुदायलाई बिहानबेलुकाको छाक टार्नसमेत समस्या छ। पूँजी अभावका कारण एकदुई घरमा मात्रै सुँगुर पाल्ने गरिएको निर्मला मरिक बताउँछिन्। बासबाट बनाइने ढकी, कोनीयाँ, छिटी, पंखा, चँगेरा, सुपलीलगायतका सामग्री पनि चाडवाडको बेलामा मात्र बिक्री हुने गरेकाे उनले बताइन्। गाउँमा रोजगारीका लागि सीपमुलक कार्यक्रम तथा तालिम आउने गरेको सुने पनि आफूहरूलाई सहभागी नगराइँदा वैकल्पिक पेशा अंगाल्न नसकिएको त्यहाँका डोमहरूकाे गुनासो छ।
गाउँमा छुवाछुत प्रथा अझै हट्न सकेकाे छैन। अहिले पनि उनीहरू मजदुरीमा पनि प्राथमिकतामा पर्न सकेका छैनन्। राजगढ गाउँपालिका–५ का अध्यक्ष लक्ष्मी ठाकुरले डोम, मुसहरलगायतका भूमिहिन तथा सुकुम्बासी परिवारका लागि गाउँपालिकाले कार्यक्रमहरू संचालन गरिरहेको बताए। गाउँपालिकाभरका त्यस्ता परिवारमा विजुली पर्याउने योजना पनि बनेकाे उनले जनाकारी दिए। आन्तरिक विवादका कारण हालसम्म पनि गाउँसभा सम्पन्न नहुँदा कार्यक्रमहरु कार्यान्वयनमा समस्या देखिएको उनकाे भनाइ छ।
वडा नं. ५ का डोम वस्तिमा विजुली पुर्याउन गत वर्ष नै ६ लाख रुपैयाँ छुट्याएर पोल किनेर राखिएकाले यस वर्षको कार्यक्रममार्फत विजुली बिस्तारको काम सम्पन्न हुने ठाकुरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।