काठमाडौं- नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका डाक्टरले गरेको गल्तीका विषयमा छानबिन गर्ने भएको छ। काउन्सिलको ‘इथिकल कमिटी’को आइतबार बसेको बैठकले छानबिन गर्ने निर्णय गरेको हो।
काउन्सिलका रजिस्टार डा दिलिप शर्माका अनुसार उक्त घटनाका विषयमा लिखित जानकारी दिन सम्बन्धित डाक्टरको नाममा पत्र पठाइएको छ।
‘यो विषयमा केकसो भएको हो भन्ने लिखित जवाफ मागिनेछ,’ उनले भने, ‘त्यसपछि इथिकल कमिटीले आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।’
उपचारमा संलग्न डाक्टरलाई मंगलबार काउन्सिलमा बोलाइएको छ।
चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारले गल्ती स्वीकार गरिसकेका छन्।
डा नेपालले चितवनमै रहेकी पौडेलको एमआरआई रिपोर्ट हेरेर शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि उनी चितवनबाट बिहीबार काठमाडौं आई नर्भिक अस्पताल पुगेकी थिइन्। बिरामी पौडेलले धेरै दुखाइ नरहेको बताए पनि डा नेपालले शल्यक्रिया नगरे पछि समस्या पर्ने बताउँदै उनको शुक्रबार शल्यक्रिया गरेका थिए।
शल्यक्रियापछि आफन्त भेट्न जाँदा देब्रेको ठाउँमा दाहिने खुट्टाको शल्यक्रिया भएको पत्ता लागेको थियो। उक्त घटनामा बिरामीका आफन्तले आपत्ति जनाएपछि डा नेपालले देब्रे खुट्टा ठानेर शल्यक्रिया गर्दा दाहिने खुट्टाको भूलवश शल्यक्रिया भएको भनी स्वीकारेका छन्।
चिकित्सकले गल्ती भएको स्वीकार गरेपछि अस्पतालले बिरामीका आफन्तसँग सहमति गरेको छ। बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले व्यहोर्ने सहमति अस्पतालले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।