डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका–२ का एक प्रधानाध्यापकमाथि महिलालाई कुटपिट गरेको आरोप लागेको छ। स्थानीय २९ वर्षीया सरस्वती बोहरालाई नवयुग आधारभुत विद्यालय सुरखालका प्रधानाध्यापक दिलबहादुर बोहराले मदिरा सेवन गरी कुटपिट गरेको आराेप लागेकाे हाे।
घरायसी काम गरिरहेकाे अवस्थामा आफूमाथि कुटपिट भएकाे महिलाले बताइन्। प्रअको लाठी र ढुंगा प्रहारबाट सस्वतीको हात, खुट्टा, पेट र टाउकोमा चोट लागेको उनका श्रीमान् लालबहादुर बोहराले बताए। घटनापछि आफूहरू उपचारका लागि जोगबुडा अस्पताल पुगेकाेमा अस्पातालले धनगढी रिफर गरेको बोहराले बताए।
पीडित महिलाले इलाका प्रहरी कार्यालय जोगबुडामा निवेदन दिएको बताएकी छन्। इलाका प्रहरी कार्यालय जोगबुडाले उपचार खर्च दिएर स्थानीयस्तरमै मिलाउन दबाब दिएको महिलाले बताइन्। सरस्वतीका अनुसार प्रधानाध्यपक बोहराले यसअघि पनि मदिरा सेवन गरी कुटपीट गरेको र अदालतमा मुद्दा परेपछि माफी मागेका थिए। उता इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख जनकबहादुर मल्लले महिला कुटपिटको निवेदन प्रहरीमा परेको पुष्टि गरेका छन्।
प्रअले पनि महिलाद्वारा आफू कुटिएको निवेदन प्रहरीमा दर्ता गरेको मल्लले बताए। जिल्ला प्रहरी कार्यालयले आफूहरूलाई अदालत जानुस् भनेको सरस्वतीले बताइन्। आफूलाई सरस्वती र उनका श्रीमान्ले कुटपिट गरेको प्रअ बोहराले नेपाल लाइभलाई बताए।
धेरैजसाे मदिरामा लठ्ठ हुने प्रअले गाउँका अंधिकाश महिलाहरूलाई दैनिकजसो गाली गर्ने गरेको स्थानीय महिलाहरूको आरोप छ। प्रहरीले मेलमीलाप गर्न खोजेपछि घटना बाहिर आएकाे हाे। घटना गत शुक्रबारकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।