काठमाडौँ- भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले भोजपुरका दुई प्रतिभालाई पुरस्कृत गरेको छ।
प्रतिष्ठानद्वारा स्थापित प्रतिभा सम्मान कवि तथा गीतकार गणेश रसिकलाई प्रदान गरियो भने प्रतिभा पुरस्कार युवा कवि तथा समाचोलक पूर्ण इन्फादालाई प्रदान गरियो। भोजपुरमा जन्म भई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याउने प्रतिभालाई दिइने सम्मानको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ भने पुरस्कारको राशि रु ३० हजार तथा ताम्रपत्र रहेको छ।
प्रतिभालाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले खुकुरीको चिनारीले प्रसिद्ध भोजपुरमा सहित्य तथा कला क्षेत्रमा धेरै प्रतिभा निस्किएको बताउँदै जुनसुकै विधामा पनि भोजपुर उर्वर रहेको बताए।
उनले गीतकार रसिक कुरा पनि राम्रो काम पनि राम्रो गर्ने व्यक्तित्व भएको बताउँदै राष्ट्रभक्तिका गीतमा आफ्नो स्थान बनाएको चर्चा गरे।
सम्मान ग्रहण गर्दै गीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले आफूले चाहेको भन्दा बढी सम्मान पाएको बताउँदै असल मनले चिताएर काम गरे सम्मान पाइने रहेछ भन्ने महसुस भएको उल्लेख गरे।
संगीतकार बुलु मुकारुङले गणेश रसिक गीतसंगीत क्षेत्रमा मात्र नभएर राम्रो कथाकार र साहित्यकारको रुपमा चिनिएको बताउँदै कवि इन्फादा पनि गम्भीर र प्रतिभाशाली भएको बताए।
‘भोजपुरमा त बनमाराले पनि कविता लेख्छ, तीतेपातीले पनि गीत गाउँछ’ भनी जिल्ला बाहिरका कसैले भनेको स्मरण गर्दै मुकारुङले कवि कलाकारलाई दिइने पुरस्कारको राशि भने अहिलेको समयअनुसार बढाउनुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।