काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपालसँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेलको पहिलो दिन ३ सय ११ रन बनाएको छ।
१४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा फर्किएको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको थियो।
पहिलो दिनको खेल सकिँदा एमसिसीको ६ विकेट लिएको छ। ८६ ओभरको खेल सकिँदा खराब प्रकाशका कारण अम्पायरले पहिलो दिनको खेल सकिएको घोषणा गरेका हुन्। एमसिसीका यासिर अराफत ३५ र एलेक्स थोम्पसन २२ रन बनाएर खेलिरहेका छन्।
एमसिसीका विल भ्यान्डर्सपरले ५३ रन बनाए। यस्तै एड योङले १५, माइल्स ह्यामन्डले ५२, टम वेस्ट्लीले ३९, विल रोड्सले ७३ र बिली गोल्डम्यानले १० रन बनाए।
नेपालका लागि सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामीले २–२ विकेट लिए।
तीन दिन चल्ने खेलमा आजकै स्थितिमा एमसिसीले बुधबार बिहान साढे ९ बजे ब्याटिङलाई निरन्तरता दिनेछ।
यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै अहिले कीर्तिपुर मैदानमा एमसिसीसँग खेलिरहेको टोलीमा समावेश छन्।
शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्ध चलिरहेको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो। यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। जसमा ६ इनिङमा शरदले ३४ को एभरेजमा १ सय ७० रन बनाएका थिए। उनीभन्दा १ रनले अघि रहेका शक्ति गौचनलाई उछिन्ने अवसर अहिले एमसिसीसँगको खेलमा शरदसँग छ।
नेपाली टोलीमा रहेका सोमपाल कामीसँग भने प्रथम श्रेणी क्रिकेटको अनुभव छ। उनले सन् २०१५–०१६ मा श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणी खेल खेलेका थिए। त्यसमा २६ ओभर बलिङ गरेका उनले ३ विकेट पनि लिएका थिए। एमसिसीसँग सोमबार भएको एकदिवसीय खेलमा टिमबाहिर रहेका उनलाई प्रथम श्रेणीमा समावेश गरिएको हो।
शरद र सोमपालसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल र सन्दीप लामिछाने रहेका छन्।
पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश छैनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।
यसअघि २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन।
यो पनि पढ्नुहोस् - नेपालले नहारेको इतिहास, प्रथम श्रेणीले फर्काएको क्रिकेट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।