काठमाडौं- निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरीत नरहेको स्पष्ट पारेको छ।
निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाइने भनेर निर्वाचन आचारसंहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचारसंहिता नलाग्ने प्रष्ट पारे।
‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख छैन,' बुधबार काठमाडौंमा संचारकर्मीहरुले राखेका जिज्ञासामा निर्वाचन आयुक्त पौडेलले भने, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भयो भनेर भन्न मिल्दैन।’
सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरीत गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ। तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बुँदामा ती विषय उल्लेख नभएकाले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्त गर्ने सरकारको कामबाट निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न नमिल्ने जनाएको छ।
निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कारबाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि स्मरण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।