राजविराज- सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहसँग विवाद बढेपछि उपाध्यक्ष सुचिताकुमारी यादवसहितका जनप्रतिनिधिहरुले विद्रोह गरेका छन्।
उपाध्यक्ष यादव, वडा नं. १ का अध्यक्ष दिनेश्वरप्रसाद सिंहलगायतका जनप्रतिधि तथा राजनितिक दलका नेता/कार्यकर्ताले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गरेर अध्यक्ष सिंहका कदमको विरोध गरे। अध्यक्ष सिंहको हैकमवादी प्रवृत्तिले सर्वसाधारको प्रशासनिक कामसहित विकास निर्माणका योजना प्रभावित भएको तथा अनियमितता उत्कर्षमा पुगेको उनीहरुको आरोप छ।
अध्यक्ष सतिश कुमार सिंहले आव ०७५/०७६ मा हैकमवादी चरित्र प्रदर्शन गर्दै एकल निर्णयका आधारमा करिब ५ करोड रुपैयाँ अनियमितत रुपमा खर्च गरेको उपाध्यक्ष यादवको आरोप छ। ‘गाउँसभामा प्रस्तुत नै नभएका करिब ६० वटा योजना अध्यक्षको एकल निर्णयले संचालन भए,’ उनले भनिन्, ‘ती योजनामा मिलेमतोमै अनियमितता भएको हामीले बुझेका छौं।’
आफू अनुकुल काम नहुने भएपछि उपाध्यक्षको भुमिका समेत बेवास्ता गरिएको उनको आरोप छ। यसअघिका आर्थिक वर्षमा पनि बजेट बनाउँदा आफूलाई बेवास्ता गरेको यादवको गुनासो छ। अध्यक्ष सिंहले आफूखुसी संचालन गरेका योजनाको मूल्यांकनका लागि इन्जिनियर समेत छुट्टै नियुक्त गरेको उनको आरोप छ। ‘दरबन्दीमा रहेका इन्जिनियरले जथाभावी संचालन भएको योजनाको मूल्यांकन गर्न मानेनन्,’ उनले थपिन्, ‘त्यसपछि उनले आफन्त भाष्कर कुमार सिंहलाई करारमा इन्जिनियर नियुक्त गरेर योजनाको मूल्यांकन गराउँदै आएका छन्।’

यसैगरी, आफ्नो पोल खुल्ने र अनियमित तरिकाले काम गर्न नपाउने भएपछि अध्यक्ष सिंहले सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झालाई हाजिर हुनै नदिने षड्यन्त्र गरेको पनि उनले खुलासा गरिन्। ‘अधिकृत सरुवा भएर आउने थाहा पाएका अध्यक्षले काठमाण्डौं जाँदा पनि हाजिरी रजिस्टर लुकाएर गए,’ यादवले थपिन्, ‘तर, उनको योजना सफल हुन नसकेपछि सरुवा गराउन हात धोएर लागेका छन्।’
अधिकृत झालाई कार्यालयमा टिक्नै नदिने मनसायले भुमिकाविहीन बनाएर राखेको तथा गाउँपालिकाको खाता संचालन गर्न नमानेको पनि उनले बताइन्। ‘अध्यक्ष र अधिकृतको कुरा नमिल्दा गाउँपालिकाको खाता संचालन भएको छैन,’ उपाध्यक्ष यादवले भनिन्, ‘४ महिनादेखि गाउँपालिका अन्तर्गतका शिक्षक/कर्मचारीको तथा तथा बालबालिका, अपाङ्ग र वृद्धवृद्धाको सामाजिक सुरक्षा समेत रोकिएको छ।’
झालाई सरुवा गराउन मन्त्रालय धाउनेदेखि सिडिओ कार्यालयमार्फत ज्ञापनपत्र बुझाउनेसम्मका काम अध्यक्षले गरिसकेको उनको भनाई छ। सिंहले स्वीकृत दरबन्दीबाहेक आफन्तहरूलाई करार र डोर हाजिरीमा लगाएर गाउँपालिकाको आर्थिक दोहन गरेको पनि उनको आरोप छ।
नेता/कार्यकर्ताको पनि एकै मुख
पत्रकार सम्मेलनमा वडा नं. १ का अध्यक्ष दिनेश्वर मिश्र, राष्ट्रिय जनता पार्टी नेपालका जिल्ला उपाध्यक्ष निरज मुक्ति, नेपाली कांग्रेका तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी अरुण कुमार मण्डल, नेकपाका बालेश्वर झा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का सहअध्यक्ष निसान्तकुमार सिंह, राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष महेन्द्र खंग, सोही पार्टीका नेता सुर्जित सिंह, समाजवादी पार्टीका सत्यनारायण मुखियालगायतले पनि उपाध्यक्ष यादवको कुरामा सहमति जनाएका छन्।
.jpg)

अध्यक्ष सिंहको कार्यशैलीका कारण तिलाठी कोइलाडीका जनताले लोकतन्त्रको महसुससमेत गर्न नपाएको उनीहरुले गुनासो गरेका छन्। ‘अध्यक्षले सामन्तवादी शैलीले काम गरेका छन्, ’राष्ट्रिय जनता पार्टीका युवा नेता सुर्जित सिंहले भने, ‘काममा बाधा पुर्याउने र उनको कुरामा सहमति नजनाउनाले बाँच्न समेत गाह्रो छ।’ अध्यक्ष सिंहले गाउँपालिकालाई भ्रष्टाचारको अखडा वनाएको उनले आरोप उनीहरुको छ।
गाउँपालिकालाई अख्तियारको पत्र
उपाध्यक्ष यादव तथा राजनितिक दलका नेता/कार्यकर्ताले पत्रकार सम्मेलनमार्फत लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगलेसमेत चासो देखाएको छ।

आयोगको इटहरीस्थित कार्यालयले गत कार्तिक १५ गते नै गाउँपालिकालाई पत्राचार गरी कतिपय योजनाको कागजपत्र मागेको छ। अख्तियारको पत्रमा आव ०७५/०७६ को आषाढ मसान्तमा गाउँपालिकाबाट पारितसमेत नगरी करिब ४ करोडको योजना संचालन गरको विषयमा सत्यतथ्य विवरण पठाउन तथा योजनाको सम्झौतादेखि अन्तिम भुक्तानीसम्मका कागजात उपलब्ध गराउन भनिएको छ।
यसैगरी, इन्जिनियर भाष्करकुमार सिंहलाई नियुक्ती गरिएको र १९ जनालाई डोर हाजिरीमा लगाई १ करोड ५० लाख हिनामिना गरेको विषयमा सत्यतथ्य खुलाई पठाउन अख्तियारको पत्रमा माग गरिएको छ।
गलत गरेको छैन, प्रमाणित भए कारबाही भोग्छु : अध्यक्ष सिंह
गाउँपालिकाका अध्यक्ष सिंहले भने आफूले गाउँपालिकामा कुनै पनि अनियमित काम नगरेको र भ्रष्टाचार गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको बताएका छन्। नयाँ सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत झाले जनप्रतिनिधिको अस्तित्व स्वीकार नगरेको, आफूहरुलाई जानकारी नै नदिई दराज फुटाएर आफूखुसी हाजिर गरेकाले उनलाई अन्यत्रै सरुवा गरिदिन आफूले सम्बन्धित निकायमा माग गरेको अध्यक्ष सिंहको भनाई छ।
‘उनको शैली सुरुदेखि नै सकारात्मक छैन, कार्यालयमा हाजिर हुन आउँदा पनि नाराजुलुस लगाउँदै हुल लिएर आए,’ सिंहले भने, ‘त्यसपछि पनि जनप्रतिनिधि केही होइनन् भन्ने मानसिकताले अघि बढेपछि हामीले उनलाई सरुवा गर्न खोजेका हौं।’ सोही समस्याका कारण गाउँपालिकाको खाता संचालन पनि नभएको उनले स्वीकारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।