काठमाडौं- अपहरणमा परेको १० दिनपछि जिल्ला प्रहरी कार्यालय पर्साले एक बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ।
१० दिनअघि कार्तिक १० गते बनेपाबाट १४ वर्षीय बालक बेपत्ता भएका थिए। पर्साको वीरगञ्ज महानगरपालिका-२५ सिर्सिया घर भई बनेपा बस्दै आएका अम्जद खानका छोरा अपरहणमा परेका थिए।
बनेपाबाट पर्सा घर जाने भनेर ती बालकलाई अपहरणकारीले फकाएर पर्सासम्म पुर्याएका थिए। त्यसपछि भने अपहरणकारीले ती बालकलाई अपहरण गरेका थिए। यसरी बनेपाबाट पर्सा पुर्याएर बालकलाई अपहरण गर्ने अपहरणकारी मध्ये एकलाई पर्सा प्रहरीले बुधबार गोली हानेर पक्राउ गर्न सफल भएको छ।
पर्साको पाखेरीया नगरपालिका–६ सानेवरीका २० वर्षीय अपहरणकारी राजकुमार दासलाई पर्सा प्रहरीले गोली हानेर पक्राउ गरेको हो।
उनलाई पर्साको विशेष प्रहरी टोलीले गएराति सवा १ बजे गोली हानेर नियन्त्रणमा लिएको थियो। १० दिनदेखिको लामो अनुसन्धानपछि पर्सा प्रहरी अपहरणकारीसम्म पुग्न सफल भएको थियो।
अपहरणमा परेका बालकको घरमा फिरौती रकम लिन भनेर भारतबाट अपहरणकारी पर्सा आएको बेला प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो। अपहरणकारीले नै पेस्तोल देखाइ अपहरणमा परेका बालकको बाबुको झोला खोसर भाग्ने क्रममा दासलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौले जानकारी दिए।
अपरहणकारीको दायाँ खुट्टाको घुडामुनि चोट लागेको छ। उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
गोली लागेको अवस्थामा अपहरणकारी राजकुमार दास
उक्त घटनामा संलग्न दुई जना फरार रहेको प्रहरीले जनाएको छ। ‘अपहरणमा अरु दुई जना पनि संलग्न रहेको अनुसन्धानबाट पाइएको छ,’ एसपी राठौरले भने, ‘उनीहरूको सुक्ष्म निगरानी भइरहेको छ।’
गोली हानेर दासलाई नियन्त्रणमा लिएपछि उनैले दिएको सूचनाका आधारमा बालकलाई भारतबाट प्रहरीले उद्धार गरेको हो।
अपरहणकारीले बालक अपहरण गरेपछि उनैको नम्बरबाट बालकका बाबुलाई फोन गरेर १२ लाख रुपैयाँ फिरौती माग गरेका थिए। उनीहरूबीच कुनै रिसिइबी पनि नेदखिएकाले फिरौतीकै लागि अपहरण गरेको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ।
फिरौती रकम नदिए बालकको हत्या गर्ने धम्की अपहरणकारीले दिने गरेको बालकका बाबु खानले बताएका छन्।
प्रहरीले बनाएको जुक्ति अनुसार खानले अपहरणकारीलाई 'मागे जति रकम दिन्छु' भनेर बचन दिएका थिए। सोही अनुसार रकम लिन भनेर आएका दासलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीले अपहरणकारीले प्रयोग गर्ने गरेको बिआर २२ जे ०८०३ नम्बरको प्लाटिना मोटरसाइलक एउटा, कटुवा पेस्तोल १ थान, पेस्तोलको चेम्बरमा लोड गरिएको गोली १ थान, अपहरणकारीको खल्तीमा राखेको अवस्थामा कटुवा पेस्तोलका गोली ४ राउण्ड, मोबाइल, एयरफोन, ब्याग बरामद भएको छ।
मोटरसाइकलमा राखेर दुई जनाले भारततर्फ लगेको र त्यसपछि केही थाहा नभएको बालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।