काठमाडौं- नेपालमा न्याय क्षेत्रको सर्वोच्च निकाय सर्वोच्च अदालत हो। यहाँ अन्तिम किनाराका लागि मुद्दाको सुनुवाइ हुने गर्दछ।
भ्रष्टाचारदेखि संवैधानिक विवाद तथा गम्भीर अपराध लगायतका मुद्दा यहाँ फैसलाका लागि सुनुवाइ हुने गर्दछन्। विसं २००८ सालमा प्रधान न्यायलय ऐन निर्माण भएपछि सर्वोच्चले देशको राजनीतिक उथलपुथलको साक्षी हुनेदेखि वाहलवाला मन्त्रीसमेत भ्रष्टाचार मुद्दामा जेल गएका फैसला सुनाएको छ।
अर्कोतर्फ प्रशासनिक क्षेत्रमा हुने व्यक्तिगत तथा संस्थागत भ्रष्टाचार तथा अनियमितताको छानबिन र अनुसन्धान गर्ने संवैधानिक अंग हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग। यसले पनि समयक्रमसँगै प्रभाव छोड्नेगरी अनुसन्धान गरेको इतिहास छ।
दुवै निकायका आ-आफ्नै प्रभाव रहे पनि यी दुवैको कार्यसम्पादन क्षेत्र तथा प्रक्रियामा भने संगठित हुँदै आएका छन्। अवस्था यस्तो पनि आउँछ कि यी दुवै निकाय कतिपय अवस्थामा भने एकअर्काविरुद्ध नै अनुसन्धानमा सामेल हुनुपर्छ। यसपटक त्यस्तै अवस्था सिर्जना भएको छ।
केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले सर्वोच्च अदालतभित्रै 'स्टिङ अप्रेसन' चलाएको पाइएको छ। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा 'बार्गेनिङ' गरिरहेका एक नायव सुब्बा तहका कर्मचारीलाई पक्राउ गर्न अख्तियारको टोली सर्वोच्च छिरेको थियो।
अख्तियार र सर्वोेच्चबाट हाल गोप्य राखिएको यो ‘स्टिङ अप्रेसन’को चर्चा भने न्यायिक वृत्तमा चुलिँदो छ। अभिलेखालयमा कार्यरत रहेका एक नासुलाई अख्तियारले मुद्दाका पक्षसँग पैसा मागेको 'कल रेकर्ड'को आधारमा पक्राउ गरिएको हो।
यसअघि विभिन्न जिल्ला अदालतबाट घुस लिएको आरोपमा कर्माचारी पक्राउ पर्ने गरेका थिए। पहिलोपटक अख्तियार सर्वोच्चभित्र छिरेको हो। प्रधानन्यायाधीशको रुपमा चोलेन्द्र शमशेर राणा आएपछि अख्तियारले अदालतका कर्मचारीमाथि पनि 'स्टिङ अप्रेसन' चलाउँदै आएको छ।
बझाङको एक १७ नम्बर निवेदनमा न्यायाधीशलाई भनेर साधारण तारेखमा छुटाइदिने भन्दै ती कर्मचारीले पक्षसँग पैसा मागेको 'कल रेकर्ड' अख्तियार पुगेको थियो। सर्वोच्चको अभिलेखालयमा कार्यरत नासु सुधिर खड्काले पटक-पटक न्यायाधीशलाई भनेर मुद्दा मिलाइदिन्छु भनि पैसा मागेको रेकर्ड अख्तियार पुगेपछि अख्तियारको टोली सर्वोच्चमा 'स्टिङ अपरेसन'का लागि पुगेको थियो।
सर्वोच्चको टोलीसँग पनि उनले पहिले रकम पाए काम हुने भनेर आश्वस्त पार्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो। अख्तियार स्रोतका अनुसार उनमाथि हाल विशेष अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ। अनुसन्धान पछिमात्र उनीमाथि मुद्दा दायर हुने वा नहुनेबारे निर्णय हुने भएकाले विस्तृत विवरण गोप्य राखिएको स्रोत बताउाछ।
अख्तियारले 'स्टिङ अप्रेसन'मार्फत विभिन्न अदालतमा कार्यरत एक दर्जन कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दायर गरिसकेको छ। मुद्दा फाँटका कर्मचारीदेखि न्यायाधीशका सवारी चालकसम्म मुद्दा मिलाइदिने बाहनामा रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।
केही साता पहिले मात्रै तुल्सीपुर उच्च अदालतअन्तर्गत नेपालगञ्ज इजलासका कर्मचारीले 'स्टिङ अपरेसन'का क्रममा घुस लिएको रकम नै गायव पारेका थिए। अख्तियारको टोलीले खोजी गर्दा घुसको रकम छोरालाई दिएर पठाएको रहस्य खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।