काठमाडौ- जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एक वर्षभित्रमा काठमाडौंमा मास्क लगाउनु नपर्ने गरी आफूले काम गर्ने बताएका छन्।
बागमती सफाइको २५०औं हप्ताको कार्यक्रममा सहभागी हुँदै मन्त्री पण्डितले उपत्यकाका सडकमा मात्र होइन नदी सफाइमा आउँदा पनि मास्क नलगाई आउनसक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।
महानगरले आफ्नो आम्दानीको ७० प्रतिशत फोहर व्यस्थापनमा खर्च गरे पनि फोहर गर्नेलाई आवश्यक कारबाही नगरेको उनको भनाइ थियो।
'५० वर्षमा पनि नष्ट नहुने खालका प्लास्टिकमा चाउचाउ लगायत अन्य खाद्य परिकार प्याकिङ भइरहेका छन्,' उनले भने, 'अब तीनचार महिनामै नष्ट भएर माटोमा मिल्न सक्ने वातावरणमैत्री प्याकिङ गर्नेतिर लाग्न म उत्पादकहरुलाई आह्वान गर्दछु।'
उनले बैसाख १ देखि धुवाँ फाल्ने गाडीहरु हरियो स्टिकर नलगाईकन महानगर र उपमहानगर पस्न नपाउने निर्णयसमेत भइसकेको जानकारी दिए। 'हरियो स्टिकर लाए पनि ४७ प्रतिशत गाडी प्रदूषण जाँचमा फेल भएका छन्,' उनले भने,' तिनले स्टिकर समेत किनेर लगाउने गरेको पाइएको छ। कुनै कर्मचारीले हरियो स्टिकर बेचेको पाए तिनलाई बर्खास्त गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।