काठमाडौं- इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोपमा जन्मकैद सजाय मागदावी गर्दै मुद्दा दायर भएका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलामको अदालती बयान सुरु भएको छ।
जिल्ला अदालत रौतहटमा आलमको बयान सुरु भएको हो। आलमको बयानपछि जिल्ला अदालतले छुनछेक बहस सुरु गर्नेछ।
न्यायाधीश दिपक ढकालको इजलाशमा आलमको बयान लिने काम भइरहेको हो।
सरकारी वकिलको कार्यालय रौतहटले आलमविरुद्ध रौतहट जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको थियो।
आलमसहित ११ जनालाई जिउँदै मानिस जलाएको आरोप छ। १० अभियुक्तलाई जन्मकैदको सजाय माग गरिएको छ भने एकलाई कर्तव्य ज्यानमा सहयोगीको सजाय हुनुपर्ने माग गरिएको छ।
जिउँदै मान्छे इँटाभट्टामा जलाएको आरोपमा कूल ४५ वर्ष सजायको मागदावी सरकारी वकिलले आमलमाथि गरेको छ। सोही आरोपमा अनुसन्धान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। तर, आलमले आफूमाथि षड्यन्त्र भएको दावी गर्दै आएका छन्।
प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा ८ सय पृष्ठ लामो आरोपपत्र दायर गरिएको भएको छ। आरोपपत्रमा आलमले आफ्ना भाइसहित मिलेर मानिसहरूलाई ज्युँदै इँटाभट्टामा हालेको दावी गरिएको छ।
प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुचुल्का र घटनास्थलबाट बरामद भएको स्विटर लगायतका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइसमेत अनुसन्धान प्रतिवेदनमा समेटेको थियो।
प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरेको थियो।
२३ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमसहित उनका भाइ महताव आलम, भदै शेख लगायत ११ जनाविरुद्ध १० वटा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदनमा सुझाव दिइएको थियो।
घटनामा घाइते भएर पनि जोगिएका एकमात्र जीवित व्यक्ति सर्लाहीका सफी अहमद र मृतक ओसी अख्तरका ससुरा (प्रत्यक्षदर्शी) समसुल मियाँको बयान, घाइतेलाई बम विस्फोट भएको स्थलबाट इँटाभट्टासम्म लैजान प्रयोग गरिएको ट्याक्टर, घटना भएको दिन इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीलाई रातारात सरुवा गरी राजीव बस्नेतलाई पठाउने शंकास्पद निर्णयसहितको विषयले आलमलगायतको संलग्नता पुष्टि गरेको प्रहरी दावी छ।
११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको माग आरोपपत्रमा गरिएको छ।
उनीहरूलाई साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७(१) सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ।
गत २०६४ साल चैत्र २७ गते संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुर फरदहवामा बम बनाउने क्रममा विस्फोट हुँदा केही मानिसहरु घाइते भएका थिए। उक्त घटना लुकाउन आलमले केही घाइतेहरुलाई आलमले इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।