काठमाडौं- नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्।
सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
सपथग्रहणपछि नियुक्त भएका सबै प्रदेश प्रमुखलाई उपस्थित सबैले बधाई तथा शुभकामना दिएका थिए।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएकोमा सोमबार साँझ नै प्रमाणीकरण गरेकी थिइन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो।
७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। प्रसाईं, अधिकारी, यादव र कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, शेरचन, परियार र पन्त पूर्व माओवादीका हुन्।
आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।