काठमाडौं- मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। मन्त्रीका आकांक्षी धेरै भएपछि त्यसको व्यवस्थापन गर्न नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वलाई हम्मेहम्मे परेको छ। दुवै पार्टीले मन्त्रीको छनोटको जिम्मेवारी पार्टी अध्यक्षलाई दिएपछि अब एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री छनोटको पूर्ण जिम्मेवारी पाएका छन्।
पार्टीबाट मन्त्री छान्ने पूर्ण अधिकार पाएपछि दुवै अध्यक्ष आफू अनुकूलका व्यक्तिलाई मन्त्री बनाउने ध्याउन्नमा रहेको एक नेताले बताएका छन्। शुक्रबार दुवै अध्यक्षबीच चर्चामा रहेका गृह र अर्थ मन्त्रालयमा कसलाई ल्याउने भन्ने विषयमा कुराकानी भएको उनी बताउँछन्।
विवादको चुरोमा यति बेला गृह मन्त्रालय छ। वाम गठबन्धनको प्रमुख दुई नेताको सहमती अनुसार गृह मन्त्रालय माओवादीको भागमा छ। तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा आफूलाई समेत स्वीकार्य व्यक्ति ल्याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाब दिएका छन्।
माओवादीमा गृहमन्त्री बन्न रामबहादुर थापा बादल, जनार्दन शर्मा र वर्षमान पुनले लबिङ गरिरहेका छन्। तर, माओवादी स्रोतका अनुसार जनार्दनलाई गृह मन्त्रालय दिन एमाले अध्यक्ष ओलीले प्रचण्डलाई सुझाएका छन्।
एमालेले गृहमन्त्रालयमा आफू अनुकुल व्यक्ति खोजेपछि माओवादी अध्यक्ष दाहालले एमालेको भागमा परेको अर्थ मन्त्रालयमा आफूलाई पनि हसज हुने व्यक्ति छान्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन्।
एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल लगायतका नेताले अर्थमन्त्रीका रुपमा नाम चर्चामा आइरहेका बेला दाहालले भने अर्का नेता सुरेन्द्र पाण्डेतर्फ संकेत गरेको ती नेता बताउँछन्।
पार्टी एकताको घोषणा भइसकेको अवस्थामा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच शक्तिशाली मन्त्रालयमा आफूअनुकूलको व्यक्ति छान्ने मौन सहमतिले पार्टी एकतापछि पनि यी दुवै नेता एउटा कित्तामा उभिने संकेत देखिएको एक माओवादी नेताले बताए।
उनले भने, 'भोलि पार्टी एक भएपछि पनि ओली र दाहाल एउटै लाइनमा उभिने संकेत हो यो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।