काठमाडौं- माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ। माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा संगठन विभाग प्रमुख बादलले नेतृत्व गर्ने विषय पक्का गरेको हो।
माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रीको छनोट गर्ने जिम्मेवारी शीर्ष तीन नेतालाई दिएको थियो। माओवादी स्रोतका अनुसार मन्त्रालयको बाँडफाँट नटुङ्गिएकाले मन्त्रीहरु छनोट हुन नसकेको हो।
नयाँ सरकारमा माओवादीले ७ मन्त्रालय पाउनेछ। जसमा सरकारको नेतृत्व बादलले गर्ने पक्का भएको छ। तर, बादलले पाउने मन्त्रालयबारे खुलाइएको छैन।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सरकार विस्तार हुने बताएका छन्। उनले सरकार विस्तारका विषयमा नेकपा एमालेसँग छलफल टुंगिएको र आइतबार एकमुष्ठ रुपमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।
उनले भने, “एमालेले पनि मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको अन्तिम टुंगो लगाउन छलफल गरिरहेको छ । माओवादी केन्द्रका तर्फबाट करिब–करिब निर्णय गरिएको छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।