डडेल्धुरा- डा गोविन्द केसी सरकारले आफ्ना माग पूरा नगरेको भन्दै डडेल्धुराको एक निजी घरमा अनसन सुरु गर्ने भएका छन्। अनसन बस्नकै लागि सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पुगेका उनले रगत परीक्षण गराएसँगै पत्रकार सम्मेलन गर्दै अनसन बस्ने औपचारिक जानकारी गराएका हुन्।
आफूले राखेका ६ बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम पूरा नगरेको भन्दै उनले डडेल्धुरा अस्पतालको आडैमा रहेको एक निजी मेडिकल भएको घरमा अनसन सुरु गर्ने भएका हुन्।
सार्वजनिक स्थानमा अनसन नबस्ने बताएका उनको अनसनको व्यवस्थापनमा अस्पतालका कर्मचारी, नागरिक समाज, पत्रकारहरुले सहयोग गरेका बताइएको छ।
डा केसीले राखेका मागः
हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।
संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायत निर्णय तत्काल खारेज गरियोस्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस्। प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।