काठमाडौं- सरकारी वकिलको कार्यालय रौतहटले मोहम्मद आफताव आलमविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
सोमबार कार्यालयले मुद्दा दर्ता गरेको हो।
जिउँदै मान्छे जलाएको आरोप आलमलाई लागेको थियो।
सोही आरोपमा अनुसन्धान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रमाण पेश गरेको थियो।
प्रहरीले सिफारिस गरेअनुसार आलमलाई सर्वस्वसहित जन्मकैदको माग सरकारी पक्षले गरेको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइसहित मिलेर मानिसहरूलाई ज्युँदै इँटाभट्टामा हालेको प्रतिवेदनमा दाबी गरिएको छ।
प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुचुल्का र घटनास्थलबाट बरामद भएको स्विटर लगायतका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइसमेत अनुसन्धान प्रतिवेदनमा समेटेको थियो।
प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गरेको थियो।
२३ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमसहित उनका भाइ महताव आलम, भदै शेख लगायत ५ जनाविरुद्ध ३ वटा मुद्दा दायर गर्न सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदनमा सुझाव दिइएको छ।
मुद्दा चलाउने अन्तिम अधिकार सरकारी वकिलको भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदनमा यस्तो सुझाव दिएको हो।
घटनामा घाइते भएर पनि जोगिएका एकमात्र जीवित व्यक्ति सर्लाहीका सफी अहमद र मृतक ओसी अख्तरका ससुरा (प्रत्यक्षदर्शी) समसुल मियाँको बयान, घाइतेलाई बम विस्फोट भएको स्थलबाट इँटाभट्टासम्म लैजान प्रयोग गरिएको ट्याक्टर, घटना भएको दिन इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीलाई रातारात सरुवा गरी राजीव बस्नेतलाई पठाउने शंकास्पद निर्णयसहितको विषयले आलमलगायत ५ जनाको संलग्नता पुष्टि गरिरहेको प्रहरी दाबी छ।
तत्कालीन समयमा निर्माण भएको घटनाको मुचुल्का पनि आलाम विरुद्धको प्रमाण भएको दाबी प्रहरीको अनुसन्धान प्रतिवेदनमा गरिएको छ।
तीन अभियोग, ११ प्रतिवादी, १० लाई जन्मकैद माग
आलम प्रकरणमा अधिकांश प्रतिवादीलाई ३ वटा अभियोगमा जन्मकैदको सजाय मागदाबी प्रहरीको छ। ु
११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहट जिल्ला न्यायाधिवक्ता खडिन्द्र राज कटुवालले बताए। प्रमुख अभियुक्त आलम राजपुर बमकाण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले बताए।
उनीहरूलाई साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(१) नं. कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७(१) कसुर अपराध अनुसार कारबाहीको माग भएको कटुवालले जानकारी दिए। आलमविरुद्ध थप दुई कसुरको सिफारिस भएको उनको भनाइ छ।
आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी ३ वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको छ। सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारिएको छ।
सबै कसुरउपर अनुसन्धान सकेर सजाय मागदाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको छ।
गत २०६४ साल चैत्र २७ गते संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुर फरदहवामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष रौतहट प्रहरीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।