काठमाडौं– इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको एकदिवसीय खेलमा नेपालले २ सय २ रनको लक्ष्य पाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको एमसिसीले ३९ ओभरमा सबै विकेट गुमाउँदै २ सय १ रन बनाएको हो। एमसिसीका विल रोड्सले ५४ रन बनाए। यस्तै बिली गोल्डम्यानले ५२, विल भ्यानडरस्परले ३६, टम वेट्स्लीले १० रन र एलेक्स थोम्पसनले ११ रन बनाए।
नेपालका पवन सर्राफले ४, ललित राजबंशीले ४ साथै अभिनास बोहरा र करण केसीले १–१ विकेट लिए।
आइतबार एकदिवसीयमा एमसिसीसँग नेपाल यु १९ टिम ३८ रनले पराजित भएको थियो। ३ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले २ सय ९६ रन मात्रै बनाउन सकेको थियो।
नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने हेतुले आएको एमसिसीले राष्ट्रिय टिमसँग नै आउँदो २० गतेदेखि २२ गतेसम्म तीन दिवसीय खेल खेल्नेछ। यस्तै २३ गते यु १९ र नेपाल मिक्स टिमसँग टी २० साथै २५ र २६ गते पोखरामा एमसिसीले पोखरा आमन्त्रण टिमसँग टी २० खेल खेल्ने तालिका रहेको छ।
टी–२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोेलीमा पूर्वकप्तान पारस खड्का भने एकदिवसीय टिममा मात्रै परेका छन्। आजको एकदिवसीय खेलमा पनि पारस खड्का र सन्दीप लामिछाने प्लेइङ ११ मा छैनन्। पारस खड्काको राजीनामा पछि कप्तान बनाइएका ज्ञानेन्द्र मल्लको कप्तान बनेपछि यो पहिलो खेल हो।
यस्तो छ नेपालको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोब, अभिनाश बोहोरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।