काठमाडौं– गैरकानुनी रुपमा रुपमा बचत संकलन र कर्जा प्रवाहको आरोपमा प्रहरीले थप तीन कम्पनीमा छापा हानेको छ। एक कम्पनीका सञ्चालक पक्राउ परेका छन् भने अरु फरार भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ईटहरीको खनारस्थित लक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्समा छापा हानेको हो। जहाँ ४ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको खुलेको थियो। सो कम्पनीका सञ्चालक बाबुराम न्यौपाने फरार छन्।
विराटनगरको न्यू आभाष फेन्सी स्टोरमा छापा हानेर प्रहरीले संचालक सिताराम लुईटेललाई पक्राउ गरेको छ। उनले २ करोड ८६ लाख ८ सय २५ रुपैयाँ बचत संकलन गरेका थिए।
त्यस्तै इटहरीकै पूर्णगिरी बचत इन्भेष्टमेन्ट प्रालिमा छापा हानेको छ। जसले १ करोड २० लाख रुपैयाँ संकलन गरेको प्रहरीले जनाएको छ। सो कम्पनीका संचालक नरबहादुर बिष्ट फरार छन्।
उनीहरुले बैंक तथा सहकारीले जस्तै गरी बचत संकलन गरी कर्जा प्रवाह गर्दे आएको सिआईबीका डिएसपी श्यामबाबु ओलियाले बताए। उनीहरुले ३० प्रतिशतसम्म ब्याज लिदै आएका थिए। घर÷जग्गा तथा सुन अवैध रुपमा धितो राखेर उनीहरुले मिटरब्याजमा कर्जा दिने गरेको प्रहरीले जनाएको छ।
यसअघि सिआईबीले इटहरी , धरान र विराटनगरमा संचालित विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरुमा छापा हानी ८ जनालाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध बैंकिङ कसुर मुद्दामा सिआईबीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।