काठमाडौं– सन् १९५० को नेपाल र भारतबीचको शान्ति तथा मैत्री सन्धि परिमार्जन तथा दुई देशबीचका विभिन्न समस्या समाधानको सिफारीस गर्न गठन भएको नेपाल भारत प्रबुद्ध व्यक्ति समूह(इपिजी)को सातौं बैठक शनिबार काठमाडौंमा सुरु हुँदै छ। बैठकमा सहभागी हुन भारतीय अधिकारीहरु शुक्रबार काठमाडौं आएका छन्।
इपिजीमा भाजपाका नेता भगतसिंह कोस्यारीको संयोजकत्वमा महेन्द्र पी लामा, बिसी उप्रेती नेपाल आएका हुन्। बैठक शनिबार र आइतबार लाजिम्पाटस्थित र्याडिसन होटलमा हुँदैछ।
इपिजीमा नेपालको तर्फबाट डा.भेषबहादुर थापा संयोजक छन्। त्यस्तै सदस्यहरुमा निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यय र डा राजन भट्टराई छन्।
सन् १९५० को सन्धि परिमार्जन नै बैठकको प्रमुख एजेन्डा हुने इपिजीका सदस्य डा भट्टराईले बताए। सीमाका समस्या समाधानको विषयमा पनि थप छलफल हुने उनको भनाई छ। सन्धि परिमार्जनको माग नेपालले लामो सयमदेखि राख्दै आएको छ।
गत २८ र १९ पुसमा छैंठौं बैठक नयाँदिल्लीमा सम्पन्न भएको थियो। जसमा भारतीय अधिकारीहरुले आफुहरु सन्धिका बुँदाहरु परिमार्जन गर्नका लागि सकारात्मक भएको बताएका थिए। सोही बैठकले साझा प्रतिवेदन लेखनलाई अघि बढाउने निर्णय समेत गरेको थियो।
इपिजीको कार्यकाल आगामी असार २१ गतेसम्म छ। पहिलो बैठक बसेको २ वर्षभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको हो। यो बैठकपछि साझा प्रतिवेदन लेखनलाई अघि बढाइने इपिजीका नेपाली अधिकारीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।