काठमाडौं– दुर्घटनामा मिलापत्र गरेवापत घुस लिने जवानमाथि अनुसन्धान गर्ने क्रममा सईको समेत घुसकाण्ड बाहिर आएको छ। महानगरीय प्रहरी प्रभाग दधीकोटका प्रमुख प्रहरी नायव निरीक्षक कुमार श्रेष्ठले समेत घुस लिएको खुलेपछि उनलाई समेत पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
आयोगले तीन साताअघि सोही प्रभागका प्रहरी जवान उमेशकुमार थापालाई १८ हजार घुससहित पक्राउ गरेको थियो। उनीमाथि अनुसन्धान गर्ने क्रममा सई श्रेष्ठले पनि २० हजार घुस लिएको खुलेपछि दुवै जनाविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रहरी मुख्यालयमा कार्यरत एक जवानसँगै उनीहरुले दुर्घटनामा मिलापत्र गराइदिएवापत भन्दै पैसा मागेका थिए।
सईलाई घुस दिएको तर आफुलाई नदिएपछि उनले प्रहरी मुख्यालयमा कार्यरत जवानलाई धम्काएर पैसा मागेका थिए। आजित भएका ती प्रहरीले अख्तियारलाई खबर गरेर घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।