काठमाडौं- आउँदो बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतसँग घरेलु मैदानमा हुने खेलको तयारीका लागि टोली म्यानमार जान लागेको हो।
नेपालले म्यानमारसँग म्यानमारकै मन्डाले सहरमा खेल्नेछ। फिफा वरियतामा म्यानमार १ सय ४७ औँ स्थानमा छ भने नेपाल १ सय ६७ औँ स्थानमा छ।
नेपाली टोलीमा यसअघि आर्मीको प्रशिक्षणमा रहेकाले खेलहरु गुमाएका भरत खवासले पुनरागमन गरेका छन्। भरतसँगै गोलकिपर एलेन न्यौपाने पनि टिममा फर्किएका छन्। मिडफिल्डमा सुवास गुरुङ र मिक्चेन तामाङ पहिलोपटक टिममा परेका छन्।
विदेशी लिगमा व्यस्त रहेका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दसँगै म्यानमार जाने टोलीमा विशाल राई र हेमन गुरुङ परेका छैनन्।
विश्वकप फुटबल छनोट अन्तर्र्गत दोस्रो चरणमा नेपालले अवे मैदानमा चार खेल खेलिसकेको छ। चाइनिज ताइपेइलाई हराएको नेपाल बाँकी तीन खेलमा भने पराजित भएको थियो। अब नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ। समूहमा नेपाल, अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको नेपालले नेपालले मंसिर ३ गते कुवेतसँगको खेलपछि चैत १३ गते चाइनिज ताइपेइसँग र आउँदो वर्ष जेठ २२ गते जोर्डनसँग साथै अस्ट्रेलियासँग चैत १८ गते खेल्नेछ। सबै खेल दशरथ रंगशालामा गर्ने तयारी छ।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
यस्तो छ म्यानमार जाने टोली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
डिफेन्डर – सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर – सुनिल बाल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
फरवार्ड – भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।