संयुक्त राष्ट्रसंघ- सिरियामा पछिल्लो समयमा हिंसा झन् बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भए पनि सम्भव भने हुन सकेको छैन।
पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ। सो आक्रमणमा परी सयौं सर्वसाधारण मारिएका छन्। सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाईमा रहेका सुरक्षाकर्मीहरुले हवाई र स्थलगत कारबाही गरेका छन्। जसका कारण यहाँका ३ सयभन्दा बढी सर्वसाधारण मारिएका छन्।
नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो।
मानवअधिकारबादीहरुले मानवीय सहायता पुर्याउनका लागि युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो। सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उक्त प्रस्तावमा छलफल भएको थियो। सो छलफलमा सहमति भने हुन नसकेको रूसले बताएको छ।
संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले राष्ट्रसंघीय सुरक्षा परिषदमा रुसले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको भए पनि युद्धविरामका लागि भने प्रस्ताव नै गरेको जानकारी दिए।
सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेको बताइएको छ। सो क्षेत्रमा पछिल्लो समयमा बमबारीका घटना बढेका छन्। सोही कारण त्यहाँ युद्धविराम गर्नुपर्ने आवाज उठेको हो।
सन् २०१३ यता सिरियाली सेनाले विद्रोहीको घेराबन्दीमा रहेको भनिएको पूर्वी गुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ।
सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो। जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन्। जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म ३ लाख ४० हजार भन्दा बढी व्यक्ति मारिएका छन्।
संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।