इनरुवा- कतै भवनको अभावमा विद्यार्थी खुल्ला ठाउँमा अध्ययन गर्न बाध्य छन् भने कतै भवन भएर पनि जीर्ण हुनाले बालबालिका जोखिम मोलेर पढ्न बाध्य भएका छन्।
यस्तो अवस्था सुनसरी सदरमुकाम इनरुवा–१ मा रहेको भगवती माविमा देखिएको छ। भ्याटबाहेक रु ३ करोडको लागतमा झन्डै १८ कोठाको तीनतले भवन निर्माण भएको ३ वर्ष बित्दासमेत भवनमा कक्षा सञ्चालन नगरी बालबालिकालाई पुरानो टिनको चुहिने छानोभित्र पठनपाठन गराइरहेको बालबालिकाले गुनासो गरेका छन्।
वर्षाको बेला पानी चुहिने र गर्मीमा अत्यधिक गर्मी हुने तथा जाडोका बेला शीत चुहिने भएकाले आफूहरु जाडो, घाम र पानी सबै सहेर जोखिममा अध्ययन गर्न बाध्य रहेको विद्यार्थीले गुनासो गरिरहेको बेला २०७२ सालमै निर्माण सम्पन्न भएको १८ कोठे तीनतले विद्यालयको भवन भने प्रयोगविहीन भएको छ।
विद्यालयको भवन नेपाल–भारत मैत्री भवन भएकाले हस्तान्तरण नभएको बहानामा कक्षा कोठा नसार्दा बालबालिकालाई असर परेको स्थानीय श्यामदेव मेहताले बताए।
विद्यालय जुन प्रयोजनका लागि निर्माण भएको हो सोही प्रयोजनका लागि प्रयोग गर्नुपर्ने मेहताको तर्क छ। बालबालिका समस्यामा रहेको भएपनि नेपाल–भारत मैत्रीभवनको हस्तान्तरण नहुँदा विद्यालयको कक्षा नयाँ भवनमा सार्न नसकिएको भगवती माविका पूर्व विद्यार्थी गणेश पोखरेलको भनाइ छ।
पोखरेलले सुनसरीका अन्य ठाउँका मैत्रीभवन हस्तान्तरण भए पनि भारतीय राजदूतको परिवर्तनले दुई वर्षअघिदेखि नै भगवती माविको नयाँ भवन हस्तान्तरण कार्य ओझेलमा परेको बताए।
प्रधानाध्यापक पुरुषोत्तम घिमिरेले भवन हस्तान्तरणको पहल भइरहेको र नभए पनि नयाँ भवनमा छिट्टै कक्षा सञ्चालनमा ल्याउने बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।