काठमाडौं- हेटौंडा मेनरोडकी बिन्दवासिनी कंसाकारलाई एसिड छ्याप्ने अभियुक्तलाई साढे पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
२०७० साल बैसाख ९ गते बिन्दवासिनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका भारतीय नागरिक दिलीपराज केशरीलाई बारा प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
नेपाल र भारत ओहोरदोहोर गर्दै आएका उनीमाथि प्रहरीले निगरानी राख्दै आएको थियो। लामो निगरानीपछि बिहीबार प्रहरीले पक्राउ गर्न सफल भएको हो।
यस्तो थियो घटना
बिन्दवासिनीका फुपूको छोराको मिल्ने साथी थिए, केशरी। केशरीसँग बिन्दबासिनीको पहिलो भेट फुपूको छोराको विवाहमा भएको थियो।
कहिलेकाहीँ भेट भइरहने केशरी फुपूको घरमा बारम्बार आइरहन्थे। केशरीले विस्तारै कलेज र ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाले। अनावश्यक फोन गरेर दिक्क लगाउन थालेपछि बिन्दाबासीले बेवास्ता गर्दै आएकी थिइन्।
यस्तैमा एकदिन केशरीले फोनबाटै प्रेम प्रस्ताव राख्यो तर बिन्दाबासिनीले अस्वीकार गरिन्। केशरीले प्रयास भने जारी राख्यो। एक दिन विवाहको प्रस्ताव समेत राख्यो।
बिन्दबासिनीले आफू उनीसँग विवाह गर्न नसक्ने कुरा बताउँदै सम्झाउने प्रयास गरिन्। तर,केशरीले दु:ख दिन छाडेन। त्यसपछि बिन्दबासिनीले एकदिन सबै कुरा परिवारमा सुनाइन्। भोलिपल्ट बिहानै पसलमा बसिरहेकी बिन्दबासिनीलाई भेट्न आएका केशरीलाई बिन्दबासिनीका बुबा मधुसुधनले सम्झाइबुझाइ गरे।
त्यतिखेर सबै कुरा सम्झेझैं गरेर पसलबाट बाहिरिएका केशरी उसको मिल्ने साथी अर्थात् बिन्दबासिनीको फुपूको छोरासँग मेलामा स्टल राख्न चितवन गएको थियो।
२०७० बैसाख ९ गते बिन्दबासिनी पसलमा बसिरहेकी थिइन्। त्यतिबेला एकाएक पसल अगाडि केशरी देखापर्यो। बिन्दबासिनीले नदेखेझैं गरिन्। हातमा महको बट्टा बोकेको केशरी हँसिलो अनुहार पारेर कतै हरायो। एकैछिनपछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आयो।
'यो मह घरमा देऊ ल?'
यति भनेर उसले बिर्को खोल्यो। द्विविधामा परिरहेकी बिन्दबासिनीले केही सोच्नै नपाइकन मह भनिएको वस्तु अनुहारतिर छ्यापेर केशरी त्यहाँबाट भाग्यो।
आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी बिन्दबासिनीले भत्भती पोल्न थालेपछि चिच्याउन थालिन्।
बिन्दबासिनीको चिच्याहट सुनेर बुबा,आमा ,दाइ आत्तिँदै पसलमा आइपुगे। त्यतिबेलासम्म छोरीको अनुहार एसिडले जलिरहेको थियो।
त्यसरी एसिड प्रहार गरेर लामो समयदेखि केशरी फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।