काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मितिसँगै कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन आयोगले फागुन २१ देखि राष्ट्रपति निर्वाचनको कार्यक्रम सुरु हुने जनाएको छ।
आयोगका अनुसार फागुन २१ मा मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन मतदाता नामावलीमा छुट भएका नाम समावेश गर्ने तथा मतदाता नामावली उपर दाबी विरोधको उजुरी दिने कार्यक्रम छ।
आयोगले त्यसको भोलिपल्ट २२ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। फागुन २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, सोही दिन उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको दाबी विरोधमा उजुरीको कार्यतालिका छ।
आयोगले फागुन २४ मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, मनोनयनमा भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई नाम फिर्ता लिन समय दिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगका अनुसार फागुन २९ गते राष्ट्रपतिका लागि मतदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।