काठमाडौं- सिरी ए अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई २-१ गोल अन्तरले हराएको छ। इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
रोनाल्डोेले ९६ औँ मिनेटमा गोल गर्नुअघि बराबरीमा रहेको खेलमा जेनोआले बलियो डिफेन्सिभ खेल देखाएको थियो। ३६ औँ मिनेटमा बोनुचीको गोलमार्फत युभेन्टसले बनाएको अग्रता ४० औँ मिनेटमा कोआमीको गोलमार्फत जेनोआले बराबरी गरेको थियो।
खेलको ११ औँ मिनेटमा जेनोआका फ्रान्सेस्को कासाटा दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिएपछि जेनोआ थप दबाबमा परेको थियो। यस्तै ५७ औँ मिनेटमा जेनोआकै फेडरिको मार्चेटी र ८७ औँ मिनेटमा युभेन्टसका एडरियनले पनि रातो कार्ड पाएका थिए।
खेलमा ५३ प्रतिशत समय युभेन्टसले बलमा नियन्त्रण बनाएको थियो। युभेन्टसले पोस्टमा २७ प्रहार गरेको थियो भने जेनोआले ८ प्रहार गरेको थियो।
१० खेलमा ८ जित र २ बराबरी खेलेको युभेन्टस २६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। १० खेलमा ८ जित १ हार र १ बराबरी खेलेको इन्टर मिलान दोस्रो स्थानमा छ। १० खेलमा नै २ जित ३ बराबरी र ६ हारसहित जेनोआ अंक तालिकाको १७ औँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।