काठमाडौं- भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१७ को प्रतिवेदन अनुसार नेपालले केही स्थान सुधार गरेको हो।
ट्रान्सपरेन्सीले हरेक वर्ष १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गर्ने गर्दछ। यसपटक ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा पुगेको छ।
गत वर्ष नेपाल १३१ औं स्थानमा थियो। सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने नभएको प्रतिवेदनमा उल्लेख छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन्।
राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँच लगायतका ६ वटा मापदण्डको आधारमा देशहरुलाई शून्यदेखि १०० सम्म अंक दिइन्छ। शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक पाएमा भ्रष्टाचार नभएको मानिन्छ।
सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजिल्यान्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन्। उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ। चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ।
दक्षिण एसियाका देशहरुमध्ये अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ। जम्मा १५ अंक पाएको अफगानिस्तान १७७ औं स्थानमा छ। यसैगरी बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं र भुटान २९ औं स्थानमा छन्।
एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरुले ५० भन्दा कम अंक पाएका छन्। यसबाट विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि कम प्रयास भएको थाहा हुने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।