काठमाडौं- स्पेनिस ला लिगामा रियल बेटिसलाई १–० ले हराउँदै ग्रानडा शीर्ष स्थानमा उक्लिएको छ।
यसै सिजन ला लिगामा उक्लिएको ग्रानडा रियल बेटिससँगको खेलअघि छैठौँ स्थानमा रहेको थियो। रियल मड्रिड र बार्सिलोनाको खेलको मिति सरेपछि ग्रानडा यो सिजन फेरि तालिकाको शीर्षमा उक्लिन पाएको हो।
रियल बेटिसविरुद्धको खेलको ६१ औँ मिनेटमा अल्भारो भ्याडिलोले गोल गरेका थिए।
ग्रानडाले १० खेलमा ६ मा जित, दुई बराबरी र २ हारका साथ २० अंक जोड्दै शीर्ष स्थान बनाएको हो। ९ खेल खेलेको बार्सिलोना १९ अंकका साथ दोस्रो स्थानमा छ। १० खेलमा १९ अंक नै रहेको रियल सोसिडाड तेस्रो स्थानमा छ।
८६ वर्षको क्लबको इतिहासका ग्रानडाले अहिलेसम्म महत्वपूर्ण उपाधि जित्न सकेको छैन। १९५९ को स्पेनिस कपको फाइनलमा ग्रानडा बार्सिलोनासँग पराजित भएको थियो। १९७० को दशकमा ग्रानडा ला लिगामा दुईपटक शीर्ष ६ सम्म पुग्न सकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।