काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई २–१ ले हराएको छ।
खेलको ४८ औँ सेकेन्डमा नै ह्यारी केनको गोलमार्फत अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा लिभरपुललाई रोक्न सकेन।
बलियो मनस्थितिमा रहेको लिभरपुलले खेलको ५२ औँ मिनेटमा बराबरी गरेको थियो।
कप्तान जोर्डन हेन्डरसनको गोलमार्फत बराबरी गरेको लिभरपुलका लागि ७५ औँ मिनेटमा पाएको पेनाल्टीमार्फत मोहम्मद सलाहले दोस्रो गोल गरे।

प्रिमियर लिगमा ९ मा जित र १ खेल बराबरी गर्दै अपराजित रहेको लिभरपुल शीर्ष स्थानमा छ। ३ खेलमा जित, ३ बराबरी र ४ खेल हारेको टोटनह्याम भने ११ औँ स्थानमा छ।
खेलभर लिभरपुलले बलमा नियन्त्रण बनाएको थियो। ६८ प्रतिशत समय लिभरपुलको नियन्त्रणमा बल देखिन्थ्यो। यस्तै लिभरपुलले पोस्टमा २१ प्रहार गरेको थियो भने टोटनह्यामले ११ प्रहार गरेको थियो।

यस्तै आइतबार नै भएको खेलहरुमा न्युक्यासल र उल्भ्सले १–१ को बराबरी खेले। आर्सनल र क्रिष्टल प्यालेसले २–२ को बराबरी खेले। नरविच सिटीलाई म्यानचेस्टर युनाइटेडले ३–१ ले हरायो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।