काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन्।
कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष बस्नेतले सो हत्याकाण्डका तथ्य बाहिर ल्याउन गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका हुन्।
दलको ६६औं स्थापना दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षणको माग आफूले राखेको उनको भनाइ थियो।
‘तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डिएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो,’उनले भने।
वि.स. २०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्था शव भेटिएको थियो। तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन। अध्यक्ष बस्नेतले पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा निर्मला हत्याकाण्डको तथ्य पत्ता लगाउन आफूले पटकपटक गृहमन्त्री थापाको छोराको डिएनए परीक्षणको माग गर्दै आएको पनि बताए।
अध्यक्ष बस्नेतले २०३६ सालमा हत्या गरिएकी नमिता–सुमिता हत्याकाण्डको पनि आफ्नो संगठनहरुले पर्दाफास गर्ने बताए। दरबारियाहरुले सो ती दुई नारीको हत्या गरेपनि त्यतिबेला नेपाल तरुण दल नभएकाले सो हत्यामा संलग्नहरु सार्वजनिक हुन नसकेको उनको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।