एजेन्सी– आइएसआइएसका नेता अबु बकर अल–बगदादी मारिएको दाबी गरिएको छ। अमेरिकी आर्मीले आइतबार सिरियाको उत्तरपश्चिममा गरेको अपरेशनमा उनी मारिएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बग्दादी नै मारिएको यकिन गर्न डिएनए टेस्ट बाँकी रहेको बुझिएको छ। यही हल्लालाई बैधानिकता दिने तरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन्। उनले ट्वीटमा लेखेका छन् 'केही ठूलो घटना घटेको छ।'
आइएसमाथि हानिएको छापाका क्रममा बगदीले आत्महत्या गरेको बताइएको छ। सुरक्षा अधिकारीका अनुसार उनीमाथि विशेष अपरेशन गरिरहेको समयमा जोगिने उपाय नभएपछि आत्महत्या गरेका हुन्।
सर्वप्रथम न्युजविकले यो समाचार सार्वजनिक गरेको थियो।

यो घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसबाट विशेष घोषणा गर्ने तयारी गरिरहेको सिएनएनले ह्वाइटहाउसका सहायक प्रेस सचिव होगन गिड्लेलाई उद्घृत गरेको छ।
बग्दादी आतंकी समूह आइएसका नेता हुन्। उनी विगत पाँच वर्षदेखि लुकिरहेका छन्। गत अप्रिलमा उनको भिडियो सार्वजनिक भएको थियो। संसारलाई बगदादीका बारेमा २०१४मा थाहा भएको थियो। उनको मोसुल मसदिजमा देखिएको एक भिडियो सार्वजनिक भएको थियो। यसपछि कतिपल्ट बगदादी मारिएको हल्ला फैलिएको थियो। अमेरिकी अधिकारीले २०१७मा भएको एक हमालामा उनी घाइते भएको समेत बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।