इटहरी- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता माधव कुमार नेपालले प्रदेश-१ सरकार हुतिहारा भएको बताएका छन्। नेकपा इटहरी नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश १ को नाम कोशी प्रदेश हो भन्ने बताए।
यति लामो समयसम्म पनि झिनामसिना कुरा टुङ्गो लगाउन नसकेको भन्दै उनले कामको गति बढाउन भने। अहिले उपनिर्वाचनको मिति नजिकिँदै गएकोले जनताको पक्षमा काम गर्न आग्रह गरे।
स्थानीयदेखि संघीय सरकारले पनि काम गर्दा दुरदर्शिता नदेखाएको उनको आरोप छ। पुल र बाटो बनाउँदा पनि एकपटक बनाएर बारम्बार भत्काउनु पर्ने अवस्था रहेको भन्दै उनले तिनै तहमा कम्युनिष्टको सरकार रहेकोले समन्वय गरेर काम गर्न आग्रह गरे।
'वडाध्यक्ष देखी मन्त्री सम्मलाई दुरदर्शी हुन आग्रह गर्छु,' 'उनले भने, 'प्रदेश १ को मास्टर प्लान बनाउनुहोेस्। मास्टर प्लान बनाएर काम गर्नुपर्छ।'
'कम्युनिस्ट सरकारको पालामा जनताले न्याय र सुख पाएनन् भने अब कहिले पाउँछन्?' उनले प्रश्न गरे। दिनानुदिन आयात बढिरहेको भन्दै ब्यापार घाटा कम गर्न उत्पादनमा जोड दिनुपर्ने धारणा राखे।
सत्तामा पुगेपछि सत्ताको मात लाग्ने भन्दै उनले कम्युनिस्ट भएर जनता लाई दुख दिने छुट नहुने बताए।चिनियाँ राष्ट्रपतिले समेत नेपालका कम्युनिष्ट नेताहरू बढी गफ मात्र गर्ने गरेको कुरा घुमाउरो पारामा भनेर गएको उनको भनाइ छ।
भाषणमा मात्र सरकार रुमलियो भने भोलि कम्युनिस्ट पार्टी समाप्त हुनसक्ने नेता नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।