काठमाडौं- डा गोविन्द केसीले आफ्नो जन्ममिति र विभिन्न समयमा भरेका आवेदनहरुबारे भ्रमात्मक समाचार आएको भन्दै सो को खण्डन गरेका छन्।
आज पत्रकार सम्मेलन गर्दै डा केसीले आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ गते रहेको प्रस्ट पारेका छन्। चारित्रिक प्रमाणपत्रमा भने २०१३ माघ २४ गतेको जन्ममिति रहेको उनको स्विकारोक्ति छ।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ रहेका डा केसीले चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिका कारण सेवा दिन असक्षम ठहरिए आजै पदबाट राजीनामा दिने समेत घोषणा गरेका छन्।
पत्रकार सम्मेलनमा केसीले भने, 'चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिले सेवा दिन असक्षम भए तत्काल राजीनामा दिन्छु। के अहिलेका विवादास्पद प्रधानन्यायाधीश पराजुलीले पद छाड्न सक्छन्?'
पत्रकार सम्मेलनमा नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका डा केसीले प्रधानन्यायाधीश पराजुलीलाई पनि यसरी खुला रुपमा प्रस्तुत हुन चुनौती दिएका छन्।
पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा सच्याएर कीर्ते बनाएको आरोप लागेको छ भने उनले एसएलसीको प्रमाणपत्र पनि पेश गरेका छैनन्।
डा केसीले बढुवाका लागि भरेका आवेदनहरुमा पर्न गएका फरक जन्ममितिको हकमा भने मानवीय त्रुटि भएको स्विकारेका छन्। ती त्रुटिबारे हालै आफूले जानकारी पाएको भन्दै उनले सम्बन्धित निकायमा गएर विधिसम्मत तरिकाले सच्याउन पहल गर्ने समेत उल्लेख गरेका छन्।
आफूले बुझाउँदै आएको नागरिकताको प्रमाणपत्र नबुझाएको तथा सिटरोल नभरिएको भनेर लगाइएको आरोप सत्य नभएको केसीले जिकिर गरेका छन्।
'बरु ती कागजात त्रिविका भ्रष्ट पदाधिकारीहरुले गायब गरिदिएर अनाश्यक विवाद सिर्जना गर्न खोजेको देखिन्छ', उनले प्रेस विज्ञप्तिमा जनाएका छन्।
जागिर लम्ब्याउने लगायत गलत नियतले आफूले उमेर फरक नपारेको डा केसीले दाबी गरेका छन्। त्यसरी उमेर फरक पारेको भए एसएलसीको चारित्रिक प्रमाणपत्र बमोजिमको जन्ममिति नै अन्य शैक्षिक प्रमाणपत्रहरुमा समेत कायम गरेको हुनुपर्ने उनको तर्क छ।
त्रिविका पदाधिकारीहरुको बर्खास्ती र प्रधानन्यायाधीश पराजुलीको राजीनामा वा महाअभियोगका लागि उठेका मागहरुबाट ध्यान मोड्ने प्रयास स्वरुप आफ्नो उमेर विवाद सिर्जना गरिएको डा केसीले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।