बाकु (अजरबैजान)- प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार राति यहाँ आइपुगेका छन्। शुक्रबारदेखि सुरु हुन गइरहेको दुईदिने सम्मेलनमा सहभागी हुन बाकु आइपुगेका प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन्।
प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्यसमेत छिन्।
बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेशमन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरे।
सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रीस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली यसअघि नै यहाँ आइपुगेका थिए।
प्रधानमन्त्री ओलीले शुक्रबार ‘नाम’ शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन्।
शुक्रबार साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा प्रधानमन्त्री ओली सरिक हुनेछन्।प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।
शिखर सम्मेलनअघि कात्तिक ६ र ७ गते भएको मन्त्रीस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवम् समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ। (राससका विशेष संवाददाता मनोज कार्की)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।